वामदेव गौतम भेट्न भैंसेपाटी पुगे ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७८ भदौमा पार्टी छाडेर हिँडेका पूर्व उपाध्यक्ष वामदेव गौतमलाई बुधबार भैंसेपाटी पुगेर भेटेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीका प्रेस सल्लाहकार रामशरण बजगाईंले पार्टीमा पुराना सहकर्मीसँग व्यक्तिगत भेटघाट भएको जानकारी दिए । ‘उहाँहरु कम्युनिष्ट आन्दोलनका पुराना सहकर्मी र योद्धा हुनुहुन्छ’, उनले भने, ‘लामो समय भएको थियो भेट नभएको । पुराना सहकर्मीसँगको यो भेटघाट व्यक्तिगत हो ।’

२०७७ माघमै नेकपा एकता राष्ट्रिय अभियानको घोषणा गरेर अघि बढेका गौतमले ओलीकै कारण आफूले एमाले छाड्नु परेको बताएका थिए । २०७८ भदौमा औपचारिक रुपमाा एमालेबाट राजीनामा दिएका उनी पछिल्लो समय अन्य दलमा सक्रिय छैनन् ।

उनलाई पार्टीमा भित्र्याउन एमालेबाटै छुट्टिएको नेकपा एकीकृत समाजवादीले पनि कोशिस गरेको थियो । तर जनताको बहुदलीय जनवादलाई स्वीकारेर जानुपर्ने अडान गौतमले लिएका थिए । कुनै बेला माओवादीसँग पनि निकट उनी अहिले कुनै ठूला पार्टीमा जान सकेका छैनन् । आफैंले गठन गरेको पार्टीले पनि राम्रो गति लिन सकेकै छैन । अहिले उनी राष्ट्रियसभा सदस्य छन् ।

प्रतिक्रिया