२१ वटा दुईपाङग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण
काठमाडौं – विभिन्न समयमा हराएका २१ वटा दुई पाङग्रे सवारी साधन खोजी गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज धनीलाई हस्तान्तरण गरेको छ।
रामशाहपथ स्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज एक कार्यक्रम गरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले १४ वटा मोटरसाइकल र सातवटा स्कुटर धनीलाई हस्तान्तरण गरेका हुन्।
कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा फेला परेका ३६३ वटा सवारी साधन चालु आर्थिक वर्षमा ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ। धनी नखुलेका ९५ वटा सवारी साधन भने भन्सार कार्यालयमा बुझाइएको प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताएका छन्।
चालु आर्थिक वर्षमै २७ वटा चोरीका २ पाङ्ग्रे सवारी साधनसहित ३१ जनालाई कारबाहीका लागि विभिन्न प्रहरी परिसर र प्रहरी वृत्तमा पठाइएको छ।
हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि स्वयम् सवारी धनी पनि बिशेष चनाखोका साथै सजक हुनुपर्ने र सवारी चालक थप जिम्मेवार बनि सवारी साधन चोरी तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरु जडान गरी सवारी साधन चोरी तथा हराउनबाट रोक्न विभिन्न उपायहरु अवलम्वन गर्न साथै मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले सम्पूर्णलाई अनुरोध गरेका छन्।