पृथ्वी राजमार्गको मुग्लिन-मादी सडकमा भोलि गाडी नचल्ने


काठमाडौं – चुनावका दिन भोलि (आइतबार) बिहान पृथ्वी राजमागएको मुग्लिनदेखि तनहुँको मादी नदीसम्मको सडकखण्ड पूर्ण रुपमा बन्द गरिने भएको छ ।

तनहुँ क्षेत्र नं १ मा हुने उपनिर्वाचनका कारण बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म सडक पूर्ण रुपमा बन्द गरिने तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिएका छन् ।

सुरक्षा संवेदनशीलताका कारण सडक बन्द गर्नुपरेको रिजालले बताए । दमकल, एम्बुलेन्सलगायत अत्यावश्यकबाहेकका सबै सवारीसाधन ठप्प गरिने भएको छ । यो निर्वाचन क्षेत्रमा ५ वटा पालिका पर्छन्।

देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, भानु नगरपालिका र व्यास नगरपालिकाका वडा नं ५ र ६ बाहेकका वडा पर्छन्। बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ ।

सबै मतदान केन्द्रमा मतदानका सामग्री ढुवानी भइसकेको छ । कर्मचारी पनि पुगिसकेको प्रजिअ रिजालले जानकारी दिए। तनहुँको एउटा निर्वाचन क्षेत्रमा चुनावी सुरक्षाका लागि २ हजार ६ सय सुरक्षाकर्मी परिचालन गरिने भएको छ । उपनिर्वाचनमा पनि नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी र नेपाली सेना पनि परिचालन गर्न लागिएको हो । जिल्लामा १० वटा मतदान केन्द्रलाई सुरक्षा संवेदनशील क्षेत्रका रुपमा हेरिएको छ ।

सुरुमा तीनवटा मात्रै मतदान केन्द्र सुरक्षाका हिसाबले संवेदनशील रहेको भनिए पनि अहिले यो संख्या १० पुगेको प्रजिअ रिजालले बताए । ती मतदान केन्द्रमा थप सुरक्षाकर्मीको व्यवस्था गरिएको छ । यसअघिको निर्वाचनमा भन्दा अहिले सुरक्षाकर्मी पर्याप्त रहेकाले सुरक्षामा कुनै कमी नहुने पनि रिजालले दाबी गरे । मतदान केन्द्रभित्र नेपाल प्रहरी परिचालन गरिनेछ । त्यसबाहिर सशस्त्र प्रहरी र बाहिरी गस्ती नेपाली सेनाले गर्ने छ ।

सबै सुरक्षा निकायले मोबाइल गस्ती गर्ने छन् । यस्तै ठाउँठाउँमा रिजर्भ टोली पनि राखिने भएको छ । तनहुँमा आइतबार राति १२ बजेसम्ममा मतपेटिका संकलन भइसक्ने प्रजिअ रिजालले बताए । यसअघि यो क्षेत्रबाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । यहाँ नेपाली कांग्रेसका गोविन्द भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले र एमालेबाट रमेश खरेल मुख्य प्रतिस्पर्धी हुन् ।

प्रतिक्रिया