आज अक्षय तृतीया, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं – आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया। सनातन धर्मावलम्बीका लागि विशेष दिन आइतबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

अक्षय तृतीयालाई सत्ययुगादि तिथि पनि मानिएको छ। त्रेतायुगको आरम्भ यही दिनबाट भएको पौराणिक ग्रन्थहरूमा उल्लेख छ।

अक्षय तृतीयाका दिन पवित्र तलाउ र नदीमा स्नान गरी भगवान् विष्णुको पूजा आराधना गर्ने विधान छ। ब्रह्मा–विष्णु–महेश्वरको आवाहन गरी घडा र जौको सातुलगायत शीतलता प्रदान गर्ने वस्तु दान गर्नाले अक्षय फल प्राप्त हुने पुराणमा उल्लेख छ। यस्तै छाता, जुत्तालगायत वस्तु पनि दान गर्ने परम्परा छ।

पुण्य मिल्ने विश्वासमा बाटोमा सर्वत राखेर बटुवालाई खुवाउने परम्परा पनि छ। गर्मीयाम भएकाले जौको सातु र सर्वत खाँदा शरीरलाई फाइदा गर्ने आयुर्वेदमा उल्लेख छ।

अक्षय तृतीयाकै दिन भगवान् शिव पार्वतीको विवाह भएको पुराणमा उल्लेख छ। त्यसैले यो दिन शुभकर्म गर्न साइत हेराइरहनुपर्दैन भन्ने मान्यता छ।

वैशाख शुक्ल तृतीयाकै दिन मनाइने भगवान् विष्णुका छैटौँ अवतार परशुराम जयन्ती भने शनिबार नै मनाइएको छ।।

७:४० घडीपला अर्थात् ८।३८ बजेसम्म तृतीया तिथि रहेको पञ्चांगमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *