खाद्य अनुसन्धान अधिकृत ढुंगेलविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत योगेन्द्र ढुंगेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सेवाग्राहीसँग अनुज्ञापत्रका लागि १ लाख ५० हजार घुस लिएको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी विरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । आयोगको टोलीले उनलाई सेवाग्राहीबाट घुस /रिसवत वापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिमको कसुरमा बिगो एक लाख ५० हजार रुपैयाँ कायम गरी ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र विगो वमोजिम जरीवाना हुन मागदावी लिई आज आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।