एन्फा कार्यसमितिको आपतकालिन बैठक आज बस्दै

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको आपतकालिन बैठक आज बस्दै छ। नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाका महासचिव किरण राईले आइतबार पदाधिकारी तथा सदस्यलाई पत्राचार गर्दै बैठक बोलाएका थिए।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो २ बजेपछि बैठक सुरु हुने पत्रमा उल्लेख छ। एन्फाको यसअघि चैत १८ गते शनिबार पछिल्लो पटक आपतकालिन बैठक बसेको थियो।

गत फागुन १७ गतेपछि एन्फाको पूर्णकालिन बैठक बस्न सकेको छैन। एन्फाको विधानअनुसार पूर्णकालिन बैठकका लागि कम्तिमा सात दिन अगाडि नै एजेन्डा पदाधिकारी र सदस्यलाई उपलब्ध गराउनुपर्छ।

कसैले एजेन्डा थप्न चाहे त्यसका लागि पनि प्रस्तावको व्यवस्था छ। यद्यपि, एन्फामा देखिँदै आएको असन्तुष्ट समूहले सामाजिक सञ्जालमार्फत् आपतकालिन बैठक बोलाएकोप्रति असन्तुष्टि व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *