मुकेशको निधनले राष्ट्र शोकाकुल छ : मन्त्री मोदी


काभ्रेपलाञ्चोक – सङ्घीय मामला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले जनआन्दोलनका घाइते मुकेश कायस्थलाई शहीद घोषणा गरिने बताएका छन् ।

बुधबार साँझ निधन भएका दोस्रो जनआन्दोलनका घाइते बनेपा नगरपालिका-८ का मुकेशको श्रद्धाञ्जली सभालाई आज सम्बोधन गर्दै उनले मुकेशलाई शहीद घोषणा गर्नेमा शङ्का नगर्न आग्रह गरेका हुन् । ‘मुकेशलाई शहीद घोषणा गर्नेमा शङ्का नगर्नुस् । उहाँको निधनले राष्ट्र आज शोकाकुल छ’, मन्त्री मोदीले भने । लोकतन्त्र प्राप्तिमा मुकेशले पुर्‍याएको योगदानप्रति काभ्रेली नागरिकले गौरव मान्नु पर्ने बताउँदै उनले शोकलाई शक्तिमा बदल्न कायस्थ परिवारजनलाई आग्रह गरे ।

मन्त्री मोदीले भने, ‘इतिहासमा ‘जिउँदो शहीद’ निकै कम हुने गर्छन्, मुकेश त्यसमध्ये एक हुनुहुन्थ्यो । उहाँले १८ वर्षसम्म शैंयाबाटै मृत्युसँग जुधिरहनु भयो ।’ सामान्यभन्दा विशेष नागरिकको मृत्यु ‘विशेष’ नै हुने गरेको र हरेक मनिसको मृत्यु फरक–फरक ढङ्गले हुने गरेको उनको भनाइ थियो ।

सो अवसरमा मन्त्री मोदीलाई मुकेश प्रतिष्ठानमार्फत मुकेशलाई शहीद घोषणा गर्नुपर्ने, उनको नाममा स्वास्थ्य संस्था निर्माण गर्नुपर्नेलगायत माग प्रस्तुत गरिएको थियो । श्रद्धाञ्जली अर्पणका लागि मुकेशको शवलाई बनेपा नगरपालिका कार्यालय प्राङ्गणमा राखिएको छ ।

श्रद्धाञ्जली सभामा काभ्रेपलाञ्चोकका सङ्घीय सांसदद्वय सूर्यमान दोङ र गोकुलप्रसाद बाँस्कोटा, प्रदेशसभा सदस्यद्वय कञ्चनचन्द्र वादे र लक्ष्मण लम्साल, गृह मन्त्रालयका सचिव दिनेश भट्टराई जिल्लास्थित राजनीतिक दलका नेता तथा कार्यकर्ता एवं स्थानीयवासीको उपस्थिति थियो । दिउँसो मुकेशको शवलाई नगर परिक्रमा गराइ साँझ बनेपास्थित उग्रतीर्थमा अन्त्यष्टि गरिने जनाइएको छ ।

अस्पतालमा उपचारका क्रममा बुधबार साँझ ७ः३० बजे निधन भएका मुकेश जनआन्दोलनमा घाइते हुँदा १५ वर्षका थिए । अहिले ३२ वर्ष पुगेका उनको स्वास्थ्यमा केही दिनदेखि थप समस्या भएपछि बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचाररत थिए ।

जनआन्दोलन भइरहँदा बनेपाको तीन दोबाटोमा विसं २०६२ चैत २७ गते मुकेशको बाँया कञ्चटमा सुरक्षाकर्मीको गोली लागेर सख्त घाइते भएका थिए । त्यस दिनदखि उनको होश नखुल्नाका साथै बाँया हात राम्रोसँग चल्दैनथ्यो । गोलीको घाउ निको भए पनि मुकेशको टाउकोमा गहिरो खाल्डो थियो । सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएको दिनदेखि ओछ्यानमा परेका मुकेशलाई ‘ज्यूँदो शहीद’ भन्ने गरिन्थ्योे ।

दोस्रो अनआन्दोलनका क्रममा काभ्रेपलाञ्चोकको नालाका भिमसेन दाहाल पोखरामा, पनौतीका सगुन ताम्राकार कलङ्कीमा, भिमखोरीका शिवहरि कुँवर बनेपामा र नाग्रे गगर्चेका सुनिलकुमार लामा काठमाडौंस्थित जोरपाटीमा मारिएका थिए भने ४० जना घाइते भएका थिए ।

प्रतिक्रिया