बैंकिङ कसुर मुद्दामा पूर्वजनप्रतिनिधि पक्राउ


भोजपुर – सर्वसाधारणको रकम ठगी गरेर फरार बनेकी एकजना पूर्वजनप्रतिनिधिलाई भोजपुरको दिंलाबाट प्रहरीले पक्राउ गरेको छ ।

षडानन्द नगरपालिका-८ की पूर्ववडा सदस्य कमला विश्वकर्मालाई भोजपुरको इलाका प्रहरी कार्यालय दिंलाका प्रहरी निरीक्षक अर्जुन पोखरेल नेतृत्वको टोलीले पक्राउ गरेको हो ।

विश्वकर्मा २०७४ सालको स्थानीय तह निर्वाचनबाट वडा सदस्यमा निर्वाचित भएकी थिइन् । उनीविरुद्ध बैंकिङ कसुरअन्तर्गतको मुद्दा चलाउन उच्च अदालत विराटनगरबाट ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धानको थप प्रक्रिया अघि बढाएको छ ।

विश्वकर्माले आफू जनप्रतिनिधि भएका बेला झुक्याउँदै सर्वसाधारणसँग लाखौं रूपैयाँ असुलेर ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।  पटक-पटक बैंकमा जाँदा पनि उनको खातामा नभएकाले पैसा निकाल्न नपाएको र गलत चेक लिएर आफूहरूलाई झुक्याइएको भन्दै पीडितले बैंकबाट ‘चेक बाउन्स’ गराएका थिए ।

पीडितले जिल्ला प्रहरी कार्यालय भोजपुरमा विश्वकर्माविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान एवं कारबाहीको दायरामा ल्याएको हो ।

प्रतिक्रिया