ललिता निवास प्रकरणमा ९ जना पुग्यो पक्राउ पर्नेको संख्या


काठमाडौं – ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई काठमाडौंबाट पक्राउ गरेको हो । रमेश कुमार पोखरेल र देवनारायण महर्जनलाई प्रहरीले सोमबार पक्राउ परेको सीआईबीका एसएसपी दिनेशकुमार आचार्यले जानकारी दिए ।

पोखरेल समर्जिङ कम्पनीका तत्कालीन प्रमुख हुन् । महर्जन नक्कली मोही भएको एसएसपी आचार्यले बताए । योसँगै बालुवाटार जग्गा प्रकरणमा पक्राउ पर्नेको संख्या ९ पुगेको छ ।

यसअघि गत मंगलबार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ४ जना पक्राउ परेका थिए । गुरुङसहित धर्मप्रसाद गौतम, सुधिर शाह र गोपाल कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरू अहिले पनि हिरासतमै छन् ।

सोमबार सीआईबीले काठमाडौं महानगरका अधिवृकत शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र नापीका कर्मचारी घमनकुमार कार्कीलाई पक्राउ गरेको थियो ।

सीआईबीले मंगलबार नै पक्राउ गरेका अन्य तीन जनालाई भने सोही दिन छाडेको थियो । उनीहरूलाई सर्वोच्चबाट पक्राउ नगर्न आदेश जारी भएको थियो । पक्राउ परेका गुरुङसहित तीन जनाले पनि सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता गरेका छन् ।

प्रतिक्रिया