फिदिम-ताप्लेजुङ सडकखण्ड पुनः अवरुद्ध, तमोर करिडोर पनि बन्द


पाँचथर – हेवाखोलामा बाढी आएपछि फिदिम-ताप्लेजुङ सडकखण्ड पुनः अवरुद्ध भएको छ ।  मेची राजमार्गको फिदिम-ताप्लेजुङ खण्डमा हिजो मात्र डाइभर्सन बनाएर गाडी चलाउन थालिएको थियो । तर, हिजो बेलुकादेखि परेको भारी वर्षाका कारण फेरि बाढी आउँदा राजमार्ग अवरुद्ध भएको हो ।

गएको २ गते राति आएको बाढीका कारण हेवाखोलाको पुल बगेपछि मेची राजमार्गको फिदिम ताप्लेजुङ खण्ड प्रायःअवरुद्ध छ । यसअघि पटक–पटक डाइभर्सन गरेर बाटो खुलाइए पनि खोला बढेर अवरुद्ध हुँदै आएको छ ।

यस्तै, अविरल वर्षासँगै आएको बाढीका कारण तमोर करिडोर र मेची राजमार्ग अवरुद्ध भएका छन् । धनकुटा र पाँचथर जोड्ने नावा खोलासँगै धनकुटाको चौबिसे गाउँपालिकामा पर्ने छरुवा र सागुरीगडी गाउँपालिकामा पर्ने रगुवाखोलामा पानीको बहाव बढेकाले तमोर करिडोर पनि अवरुद्ध भएको हो ।

निर्माणाधीन तमोर करिडोरका तीनवटै खोलामा पुल बनेको छैन । नावाखोलामा पानीको सतह बढ्दा गाडी चल्न नसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख (डीएसपी) हरि खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया