थाइल्यान्ड आकर्षक रोजगारी पाउने भन्दै नेपाली नागरिकलाई म्यानमार पुर्‍याएपछि…

काठमाडौं – थाइल्यान्ड लैजाने भन्दै म्यानमार पुर्‍याएर बन्धक बनाउने एक चिनियाँ नागरिक पक्राउ परेका छन्। मानव बेचबिखन अनुसन्धान व्युरोले चिनियाँ नागरिक ४२ वर्षीय लियाङ च्युनलाई काठमाडौंको विजेश्वरीबाट पक्राउ गरिएको हो।

लियाङ च्युन नेपालमा भिजिट, स्टुडेन्ट र बिजिनेश भिसामा बस्दै आएको व्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले बताए। विभिन्न भिसामा नेपाल बस्दै आएका उनले विभिन्न व्यवसायमा लगानी गरेको प्रवक्ता पंगेनीले बताए।

उक्त गिरोहमा हालसम्म १० जना नेपाली परिसकेको प्रहरीले जनाएको छ। उनीहरू फिरौती रकम तिरेरमात्रै नेपाल आउन सफल भएका थिए। जाहेरवाली ‘२६ बबरमहल १८९’का अनुसार लियाङले ४-५ महिना सँगै काम गरिसकेपछि थाइल्याण्डमा कम्प्युटर टाइइपीङसम्बन्धी रोजगारीमा लैजान प्रस्ताव गरेका थिए।

उक्त गिरोहले थाइल्यान्डमा आकर्षक रोजगारी पाउने भन्दै नेपाली नागरिकलाई प्रलोभन देखाउने र म्यान्मार पुर्‍याउने गरेको पीडितको भनाइ छ। म्यानबार पुगिसकेपछि सक्कल राहदानी र मोबाइल जफत गरी बन्धक बनाउने र विभिन्न सामाजिक सञ्जालमार्फत् दिनको २० घण्टासम्म अनलाइन स्क्याम गर्न लगाई शारीरिक तथा मानसिक यातना दिने गरेको पीडितको भनाइ छ।

पक्राउ परेका लियाङलाई थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थपिएको प्रवक्ता पंगेनीले बताए। उनले गिरोहमा आबद्ध अन्य चिनियाँ नागरिकको खोजी भइरहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *