अमेरिका लगिदिने भन्दै विदेश लगेर अलपत्र पार्ने एकजना पक्राउ


काठमाडौं – मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका-२७ घर भई हाल काठमाडौं महानगरपालिका-८ गुह्रेश्वरी पन्चकन्या मार्ग डेरा गरी बस्ने ३४ वर्षीय कमल तामाङ रहेको प्रहरीले जनाएको छ।

सुन्दर भविष्य र सुविधा सम्पन्न जीवनशैली उपलब्ध हुने लोभ लालच र भ्रममा पारी अवैधानिक बाटो हुँदै अमेरिका लगिदिने भनी पीडितहरुलाई अन्यत्र देशमा लगि अलपत्र पार्ने, बन्धक बनाइ यातना दिने र फिरौती लिने जस्ता आपराधिक कार्यमा संलग्न रहेको खुल्न आएपछि तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

तामाङ समेतले हवाई मार्ग हुँदै अमेरिका लैजाने प्रलोभन देखाई जनही ११ लाख ३० हजारदेखि ६० लाख रूपैयाँसम्म रकम लिई पीडितहरूबाट जम्मा २ करोड २६ लाख २३ हजार ८ सय ९० रुपैयाँ लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

नेपालबाट अमेरिका लैजाने भनि भारतको नयाँदिल्ली, श्रीलंका, दुबई, सिंगापुर, फिलिपिन्स, थाईल्याण्ड, लाओस र जाम्बियालगायतका देशमा पुर्‍याई अलपत्र पारी थप रकम माग गर्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया