नेम्वाङको अन्त्येष्टि बिहीबारमात्रै गरिने, शोकमा सार्वजनिक बिदा

काठमाडौं – तत्कालीन संविधानसभाका सभाध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबारमात्रै गरिने भएको छ।

एमालेले शोक विज्ञप्ति जारी गर्दै स्वर्गिय नेता नेम्वाङको बिहीबारमात्रै अन्त्येटि गरिने जानकारी दिएको छ। नेम्वाङका छोरा बुधबार अपरान्हमात्रै नेपाल आइपुग्ने भएपछि बिहीबार अन्त्येटि गरिने भएको हो।

विज्ञप्तिमा उनको शव बुधबार १ बजेसम्म पार्टी कार्यालय च्यासलमा राखिने र त्यसपछि पारिवारिक एवम् धार्मिक संस्कारका लागि शव उनको निवास बालुवाटारमा राखिने जनाइएको छ। त्यसपछि राजकीय सम्मानका साथ बिहीबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ।

नेम्वाङको शोकमा बिहीबार सार्वजनिक बिदा

नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । आज गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जनाएको हो ।

वर्तमान प्रतिनिधिसभा सदस्यसमेत रहेका नेम्वाङको ७१ वर्षको उमेरमा आज बिहान निधन भएको थियो ।

सरकारले नेपालभरका सबै सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा बिदा दिने र तत्तत् निकायका कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *