धरानका उपप्रमुख बेघाको घरमा तोडफोड, भाइमाथि खुकुरी प्रहार


सुनसरी – धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाको घरमा पसेर हतियारसहितको समूहले तोडफोड गरेको छ । घरमा पसेर हतियारधारी समूहले उपप्रमुख बेघाका भाइलाई खुकुरी प्रहार गरेको छ । बेघाको देब्रे गालामा खुकुरी प्रहारबाट चोट लागेको छ ।

धरान १५ स्थित खोरिया बस्तीमा केही अराजक युवाहरूले बेघाका भाइ विष्णु बेघामाथि आक्रमण गरेको स्थानीयले बताए । हतियारसहितको समूहले उपप्रमुख बेघाका घरमा आक्रमण गरेको खबर पाएपछि बेघाले प्रहरीलाई फोन गरेका थिए ।

घटना के कारणले भएको हो भनेर अनुसन्धान भइरहेको र खुकुरी प्रहार गर्ने समूहको खोजी कार्य भइरहेको धरान इलाका प्रहरी कार्यालयका डीएसपी नवराज मल्लले जनाएका छन् ।

घर तोडफोड हुनेबित्तिकै खबर गरिए पनि प्रहरीले शान्ति सुरक्षा नदिएको गुनासो बेघाले गरेका छन् । सुनसरीका प्रहरीले भने घर तोडफोड गर्नेहरुको खोजी थालिएको जनाएको छ ।

बेघाको घरमा तोडफोड हुँदा तत्काल प्रहरी नपुगेकोबारेमा छानबिन थाल्ने सुनसरीका प्रहरी प्रमुख विपिन गौतमले बताएका छन् । धरानमा पछिल्लो समय अराजक गतिविधि बढ्दै गएका छन् । धरानका प्रमुख हर्क साम्पाङबाट नियमित सार्वजनिक भइरहेका आपत्तिजनक अभिव्यक्तिले पनि तनाव बढाएको भन्दै उनको आलोचना हुने गरेको छ ।

प्रतिक्रिया