विभिन्न देशका १८३ नाथ योगीको सहभागितामा राष्ट्रिय सम्मेलन


गण्डकी – प्राचीन तपोभूमिका रुपमा प्रतिष्ठत पोखरा महानगरपालिका-३१ स्थित शिवगोरक्षनाथपीठ सिद्धाश्रममा नाथ योगीको तीन दिने राष्ट्रिय परिषद्को सम्मेलन सुरु भएको छ । सोमबारदेखि सुरु राष्ट्रिय सम्मेलनमा देशका विभिन्न स्थानबाट आएका एक सय ८३ जना नाथ योगीको सहभागिता छ ।

समाजमा कानचिरा जोगीका रुपमा विशिष्ट पहिचान बनाएका नाथ सम्प्रदायका योगीको राष्ट्रिय परिषद्ले नाथ योगीहरूद्वारा सञ्चालित पीठ, तिनको भौतिक अवस्था, समिति तथा गुरुहरूको सम्बन्धका साथै यस सम्प्रदाय संरक्षणको उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको सिद्धिदात्री दुर्गा मन्दिर कोटिहोम आश्रम नवलपुरका पीठाधीश आचार्य योगी खेचरनाथले जानकारी दिए ।

नेपालभर एक हजारभन्दा बढी संख्यामा नाथयोगी रहेको जानकारी दिँदै उनले नेपाल र नेपाली समाजको एकीकरणमा नाथ योगीको भूमिका महत्वपूर्ण रहेको बताए । सम्मेलनको स्थानीय व्यवस्थापन शिवगोरक्षनाथपीठ सिद्धाश्रमले गरेको सो संस्थाका संरक्षक राममणि अधिकारीले जानकारी दिए ।

संस्कृतिविद् डा. जगमान गुरुङले पञ्च पाण्डव घुम्दै केही समय यही आएर बसेका कारण यसस्थलको नाम पछि पचभैया भएको बताए । नाथ सम्प्रदायको आफ्नै विशिष्ट महत्व रहेको र उच्च मनोबलका साथ यस परम्पराको अनुशरण गर्न उनले नाथ योगीहरूलाई आग्रह गरे ।

विश्व हिन्दू महासङ्घका अध्यक्ष अस्मिता भण्डारीले नाथ राष्ट्रिय परिषद्को सम्मेलनले नाथ सम्प्रदायको मौलिक संस्कार र संस्कृतिलाई जीवन्त राख्न थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया