प्रधानमन्त्रीको चीन भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत
काठमाडौं – सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघबाट सिधै हुने चीनको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
चीन भ्रमणका क्रममा ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात, कृषि लगाएतका बिषयमा दुईपक्षीय छलफल हुने र केही विषयमा समझदारी हुने उनले बताइन् । बैठकले संविधान दिवसका अवसरमा प्रदान गरिने विभूषण वितरणलाई मर्यादित बनाइ राष्ट्रको सम्मानको रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूभुषणसम्बन्धी कानूनको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्न कार्यदल गठन गरेको छ ।
कार्यदलको अध्ययन प्रतिवेदन नआएसम्म हाललाई विभुषण प्रदान कार्य स्थगन गरिएको प्रवक्ता शर्माले बताइन् । बैठकले कर प्रणाली सुधारका लागि समिति गठन गर्ने निर्णय गरेको छ भने चाडपर्वलाई ध्यानमा राखेर साल्ट ट्रेडिङ र खाद्य व्यवस्था विभागलाई ५० प्रतिशत भन्सार छुटमा १०–१० हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृत दिने निर्णय गरिएको उनले बताइन् ।
त्यस्तै, बैठकले सिंचाई नीति २०८० स्वीकृत गर्ने निर्णय गरेको छ भने नेपाल नागरिकता ऐन तेश्रो संशोधन नियमावली स्वीकृत गर्ने निर्णय गरेको छ ।