गण्डकीमा बहुवर्षीय ठेक्का लगाउन ६८ योजना छनोट
म्याग्दी – गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/८१ मा बहुवर्षीय ठेक्का लगाउन ६८ योजना छनोट गरेको छ ।
म्याग्दीको बेनी नगरपालिका-५ गाजनेमा रहेको जगन्नाथ मन्दिरको आइतबार भएको उद्घाटन कार्यक्रममा मन्त्री रेशम जुग्जालीले सडकका ३५ र सडक पुलका ३३ वटा योजनालाई बहुवर्षीय ठेक्का लगाउन सिफारिस गरिएको जानकारी दिए ।
‘२०७४/७५ मा ठेक्का लागेका अधिकांश योजना यही वर्ष सकिँदैछन् । सम्पन्न हुन नसक्ने योजनाको ठेक्का तोड्ने प्रक्रिया अघि बढाएका छौँ’, उनले भने, ‘यस वर्ष सडक र सडक पुलका ६८ वटा नयाँ योजनाको बहुवर्षीय ठेक्का लगाउन मन्त्रालयले निर्णय गरिसकेको छ ।’
मन्त्री जुग्जालीले चालु आवमा प्रत्येक निर्वाचन क्षेत्रमा रु पाँच/पाँच करोड बराबरको सडक आयोजनाको पनि बहुवर्षीय ठेक्का लगाउने तयारी गरेको जानकारी दिए । चालु आवमा विनियोजन भएको बजेटलाई कुल अनुमानित लागतको २० प्रतिशत मानेर स्रोत सुनिश्चिततन र बहुवर्षीय ठेक्कामार्फत कार्यान्वयनको तयारी गरेको मन्त्री जुग्जालीले जानकारी दिए ।