याक अट्याक २०२३ का च्याम्पियन बने एपिएफका मल्ल


काठमाडौं – याक अट्याक २०२३ (माउन्टेन बाइक रेस) मा सशस्त्र प्रहरी बल एपिएफका लक्ष्मण मल्ल च्याम्पियन भएका छन्। माउन्टेन बाइकिङ वल्र्ड वाईडद्वारा आयोजित दुई सय ६७ किलोमिटरको माउन्टेन बाइक रेसमा एपिएफका मल्ल च्याम्पियन भएका हुन्।

बेशिसहरबाट सुरु भएको रेस तातोपानी पुगेर समापन भएको थियो। उक्त दूरी मल्लले १९ घण्टा पाँच मिनेट ५१ सेकेन्ड समय लगाए। उनले योभन्दा अगाडि पनि दुई पटक याक अट्याकमा प्रतिस्पर्धा गरेका थिए।

मल्ल सन् २०१८ को याक अट्याकमा पाँचौं र २०२२ को याक अट्याकमा तेस्रो स्थान हासिल गरेका थिए। तर, यस पटक भने कडा परिश्रम र मेहिनतले विजयी हुन सफल भएको उनले बताए। याक अट्याक २०२३ (माउन्टेन बाइक रेस) कुल आठ चरणमा भएको थियो।

त्यस्तै पहिलो चरण बेशीसहर लुपसम्म ३० किलोमिटर, दोस्रो चरण बेशीसहरदेखि चामे ६२ किलोमिटर, तेस्रो चरण चामेदेखि मनाङ ३६ किलोमिटर, चौथो चरण मनाङ लुप १४ किलोमिटर, पाँचौ चरण मनाङदेखि थोरङ्ग फेदी १६ किलोमिटर, छैटौं चरण थोरङफेदीदेखि कागबेनी २८ किलोमिटर, सातौं चरण कागबेनी लुप ३५ किलोमिटर र आठौं चरणमा कागबेनीदेखि तातोपानीसम्म ४६ किलोमिटरमा गरी कुल दुई सय ६७ किलोमिटरमा प्रतिस्पर्धा भएको थियो। जहाँ काठमाडौंको धर्मस्थलीका मल्ल च्याम्पियन भए। एपिएफकै सुरज रानामगर दोस्रो हुँदा अच्यूतकृष्ण खरेल तेस्रो स्थानमा रहे।

यो उच्च हिमाली क्षेत्रमा गराइने प्रतियोगिता हो। अन्नपूर्ण पदमार्गमा आयोजना गरिएको याक अट्याक २०२३ साइकल दौड प्रतियोगिता समुद्री सतहदेखि पाँच हजार चार सय १६ मिटर उचाइमा पर्ने थोराङला भञ्ज्याङसम्म पुग्यो। यस साइक्लिङमा नेपालसहित ९ देशका २५ खेलाडीले प्रतिस्पर्धा गरे। विजेतालाई पोखराको हलनचोकमा एक कार्यक्रम आयोजना गर्दै पुरस्कार वितरण गरिएको थियो। इतिहासमै पहिलोपटक संसारकै उच्चस्तरमा यसपालि याक अट्याक खेलाइएको आयोजकले जनाएको छ।

प्रतिक्रिया