आज पृथ्वीजयन्ती एवम् राष्ट्रिय एकता दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडाैं – आज पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती, पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । वि.सं. १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीकाे कोखबाट जन्मिएका पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा महत्त्वपूर्ण योगदान पुर्याएकाले उनको जन्मजयन्तीका दिन राष्ट्रिय एकता दिवस मनाउन थालिएको हो ।
पृथ्वीनारायण शाह २० वर्षकै उमेरमा वि.सं. १७९९ चैत २५ गते गोरखाको राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो ।पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार भएको थियो । पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेका इतिहास छ ।
पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोटमा विजय हासिल गरेका थिए । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडाैं उपत्यकामा विजय हासिल गरेका थिए । उपत्यकामा विजय प्राप्त गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए । उनका दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक छन् ।
पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।