कन्दमूल सखरखण्ड खानुका फाइदै फाइदा


काठमाडाैं – सखरखण्ड स्वास्थ्यका लागि निकै लाभदायक कन्दमूल हो । यसलाई ऊर्जाको राम्रो स्रोत पनि मानिन्छ । आयुर्वेदका अनुसार, सखरखण्ड जाडोमा बढी लाभदायक हुन्छ । यसले जाडोमा शरीरलाई न्यानो बनाइराख्न सघाउँछ ।

यसका साथै पोषक तत्त्वले भरिपूर्ण सखरखण्ड सेवनका धेरै फाइदा छन् । सखरखण्डमा पाइने क्यालोरी स्टार्च, फाइबर, एन्टिअक्सिडेन्ट, क्यौरोटिनायड, भिटामिन ए, भिटा क्यारोटिनले मानव स्वास्थ्यलाई चाहिने आवश्यक पोषक तत्व प्रदान गर्दछ । रोग प्रतिरोधक क्षमतालाई बलियो बनाउछ ।

यसमा स्टार्च हुने भएकोले यसको एक सय ग्राममा ९० क्यालोरीसम्म हुन्छ । यस्तै फोलेट, आइरन, म्याग्नेसियम, कपर, भिटामिन आदि पनि प्रशस्त पाइन्छ ।

यसका फाइदा

-छालामा चमक, पुनर्ताजगी ल्याउन मद्दत गर्नुका साथै चाउरीपना आउँन दिँदैन ।

-डायट्री फाइबर र कार्बोहाइड्रेट बढी मात्रामा हुन्छ, जसले रगतको मात्रा बढाउँन सहयोग पु¥याउँछ ।

-मधुमेहका बिरामीका लागि लाभदायक मानिन्छ । यसमा पाइने क्यारोटिनाइडले रगतमा चिनीको मात्रा नियन्त्रित गर्छ र इन्सुलिन बढ्दैन ।

-रक्तचाप नियन्त्रण गर्न सखरखण्डको सेवन लाभदायक मानिन्छ ।

-यसमा भएको पोटेसियमले स्नायु प्रणालीको सक्रियतालाइ राम्रो बनाइराख्छ । यसले मिर्गौंलालाई स्वस्थ राख्न सहयोगी भूमिका निभाउँछ ।

– यसमा प्रशस्त मात्रामा भिटामिन बी-६ पाइने हुँदा शरीरमा होमोसिस्टिन नामक अमिनो एसिडको प्रवाहलाई नियन्त्रण गर्छ ।

-यसमा भिटामिन डी प्रशस्त हुन्छ । यसका कारण हाड, दाँत, नशा, छालाको लागि यसको फाइदाजनक मानिन्छ ।

-भिटामिन ए पनि प्रशस्त पाइने हुनाले आँखा तेजिलो बनाउन मद्दत गर्दछ ।

सखरखण्ड खाने तरिका

सखरखण्ड सन्तुलित भोजनका लागि सर्वोत्तम खानेकुरा हो । यसमा पाइने अधिकांश तत्व हाम्रो स्वास्थ्यका लागि उपयोगी भए पनि एउटा तत्व ‘अक्जालेट’ले भने क्याल्सियम र अरु खनिज तत्वलाई जमाउने काम गर्छ । यसले मिर्गौलामा पत्थरी हुने सम्भावना हुन्छ । त्यसैले मिर्गौलामा पत्थरीको खतरा भएका व्यक्तिले धेरै सखरखण्डको उपभोग गर्नु हुँदैन ।

सखरखण्ड पकाएर खाँदा यसमा पाइने बिटा–क्यारोटिनको मात्रा घट्छ । उसिन्दा भने यसको बिटा–क्यारोटिनको मात्रा धेरै घट्दैन । तर, पकाउँदा यसमा पाइने भिटामिन सीको मात्रा भने वृद्धि हुन्छ ।

प्रतिक्रिया