‘श्री स्वस्थानी व्रतकथा’ आज समापन


काठमाडौं – आज माघ शुक्ल पूर्णिमा अर्थात् ‘श्री स्वस्थानी व्रतकथा’को अन्तिम दिन । एक महिनादेखि चलिरहेको श्री स्वस्थानी व्रत शनिबार विधिपूर्वक समापन गरिँदैछ ।

नेपाली सनातन समाजमा हरेक वर्ष पौष शुक्ल पूर्णिमामा शुरु गरी माघ शुक्ल पूर्णिमासम्म श्रीस्वस्थानीको व्रत बस्ने, पूजा गर्ने र कथा सुन्ने परम्परा छ । माघ शुक्ल पूर्णिमाका दिन दीप–कलश–गणेशको पूजा गरी अष्टदलमा अष्टमातृकासहित श्रीस्वस्थानी देवीको विशेष पूजा-अर्चना गरिन्छ ।

देवादिदेव महादेवसहित स्वस्थानीको पूजा आराधना गरी अर्घ दिई विधिपूर्वक गर्नाले मनोकांक्षा पूर्ण हुने विश्वास गरिन्छ । समापनको पूजामा अक्षता, बेलीपुष्प, जनै, रोटी, पान, सुपारी र मौसमअनुसारका फलफूल एवं बत्ती १०८ को संख्यामा चढाउने विधान छ । यसरी चढाएको नैवैद्यमध्ये आठ रोटी, आठ पान, आठ सुपारी र फल श्रीमान् वा छोरा (छोरी) लाई दिई १०० रोटी व्रतालुले खाने नियम छ ।

सत्ययुगमा महादेव पति पाउन देवी पार्वतीले भगवान् विष्णुको सल्लाहमा स्वास्थानी परमेश्वरीको व्रत बसेको बताइन्छ। महादेव पति पाएपछि पार्वतीले नै यो व्रतको प्रचार गर्न लगाएको व्रतकथामा उल्लेख छ ।

यो पूर्णिमामा पद्मपुराणअन्तर्गतको १५३ श्लोकको ‘स्वस्थानी व्रत माहत्म्य’ पाठ गर्ने परम्परा छ । काठमाडौंको साँखुस्थित शाली नदी र भक्तपुरको हनुमानघाटमा लागेको माधवनारायण मेला पनि यही पूर्णिमा सम्पन्न हुन्छ। माघस्नान र स्थानीय तीर्थस्थलमा लागेका मेला-पर्व पनि यही पूर्णिमामा समापन गरिन्छ ।

प्रतिक्रिया