आज इद-उल-फित्र पर्व, प्रेम र सद्भाव साटासाट गरी मनाइँदै


काठमाडौं – आज इस्लाम धर्मावलम्बीको महान् पर्व इद (इद–उल–फित्र) । अरबी पात्रोअनुसार दसौँ महिनाको पहिलो दिन आज बिहीबार मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद-उल-फित्र पर्व मनाउँदैछन् ।

बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले जनाएका छन् । खुसीपूर्वक शरीरको दान गरेर दिनदुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद-उल-फित्र भनिएको हो ।

मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन् । रमजानलाई पवित्र महिना मानिन्छ । जकात (दान) यही महिनामा दिइन्छ ।

अरबी पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्ये एक याे पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसॅंगै मनाइन्छ। यसै अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

मुस्लिम समुदायमा इदको दिन बिहानै उठेर नुहाई धुवाइ गरी मस्जिदमा नमाज पढेर धार्मिक मनोभाव आदानप्रदान गर्ने परम्परा छ । साथै मुस्लिम समुदायले आफन्तमाझ अङ्गालो हालेर प्रेम र सद्भाव साट्ने गर्छन् ।

प्रतिक्रिया