इनार खन्ने क्रममा निसास्सिएर काका र भतिजको मृत्यु


भक्तपुर – इनार खन्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका-४, खनालचोक सेतोमाइक्रो पार्क नजिकै आज इनार खन्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु भएको हो ।

भाडाको जग्गामा टहरो हालेर बस्दै आएका रामेछाप उमाकुण्ड गाँउपालिका-४, प्रिति घर भएका २८ वर्षीय सन्देश सुनुवार र उनको काका ४६ वर्षीय दीपक सुनुवारको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका राजन कार्कीले जानकारी दिए । उनका अनुसार, उनीहरु आफू बसेको जग्गामा इनार खन्ने क्रममा अन्दाजी ५५ फिट तल पुग्दा ग्यास निस्केर अचेत भएका थिए ।

विपद् व्यवस्थापन महाशाखा काठमाडौंबाट २५ जना, जिल्ला परिसर भक्तपुरका ३० जना प्रहरी टोली, सशस्त्र प्रहरी बलबाट नौ जनाको प्रहरी टोली र आरएनए-१६ को टोली घटनास्थल पुगेर उद्धार गरी उपचारको लागि भक्तपुर अस्पताल लगे पनि दुवैको मृत्यु भइसकेको उनले जानकारी दिए ।

घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको र शव परीक्षणका लागि भक्तपुर अस्पतालमा राखिएको उनले जानकारी दिए ।

प्रतिक्रिया