आज माता तीर्थ औंसी : आमाको मुख हेर्ने पर्व, श्रद्धा भक्तिसाथ मनाइँदै


काठमाडौं – आज माता तीर्थ औंसी, आमाको मुख हेर्ने पर्व । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औंसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज (शनिबार) देशभर श्रद्धा भक्तिसाथ मनाइँदैछ ।

शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा-तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ ।

सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतम बताउँछन् ।

दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । वैशाखकृष्ण औंसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुशी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् गौतमले बताए ।

यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा मेला लाग्ने गर्छ । विगत दुई वर्ष कोरोनाको सङ्क्रमण तीव्र रूपमा फैलिएकाले मातातीर्थमा दिवङ्गत माताको सम्मानमा लाग्ने गरेको मेला स्थगित गरिएको थियो । यस वर्ष भने कोरोना धेर कम भएकाले मेला लाग्ने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया