मदन-जीवराज स्मृति दिवस : एमालेले दियो श्रद्धाञ्जली, पूर्वराष्ट्रपति भण्डारी पनि सहभागी


काठमाडौं – पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको शालिकमा माल्यार्पणसहित श्रद्धाञ्जली अर्पण गरेकी छिन् । ३१ औं मदन-आश्रित स्मृति दिवसको अवसरमा बल्खुस्थित मदननगरमा पुगी श्रद्धाञ्जली अर्पण गरेकी हुन् ।

स्मृतिसभामा पूर्व राष्ट्रपति भण्डारीसहित नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङसहितका नेताहरूको उपस्थिति थियो ।

उपस्थित नेता–कार्यकर्ताहरूले मदन-आश्रितको शालिकमा माल्यार्पण गर्नुका साथै श्रद्धाञ्जली अर्पण गर्दै स्मरण गरेका थिए । तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा निधन भएको थियो ।

सोही दिनको स्मरणमा नेकपा (एमाले) ले हरेक वर्ष जेठ ३ गते विविध कार्यक्रम गर्दै आएको छ । मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ‘जबज’ को सिद्धान्त नेपालको कम्युनिष्ट आन्दोलनमा पृथक मानिन्छ । मदन–आश्रितको सम्झनामा नेकपा एमालेले हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया