तनहुँमा बस दुर्घटना : १४ जनाकाे मृत्यु, १६ जना घाइते
काठमाडाैं – तनहुँमा आज बस दुर्घटना हुँदा १४ जनाकाे मृत्यु भएकाे छ । घटनास्थलबाट १४ जनाकाे शव निकालिएकाे र १६ जना घाइतेलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा पठाइएकाे सशस्त्र प्रहरीले जनाएकाे छ ।
अहिले घटनास्थलमा उद्धार कार्य चलिरहेकाे छ । उद्धार कार्यमा गोताखोरसहितको टोली खटिएको छ । प्रहरी, सशस्त्र प्रहरीसहित स्थानीय बासिन्दा उद्धारमा खटिएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ११ जना गोताखोरसहित ४५ जना र नम्बर-२३ मनकामना गणबाट ३५ जनाको फौज खटिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार अप्ठेराे ठाउँ भएकाले तुइन रोप अर्थात् डोरीको प्रयोग गरी उद्धारकाे काम भइरहेको छ । घाइतेहरूलाई सडकसम्म ल्याउन डोरीमा बास्केट स्ट्रेचर रहेको छ ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै पोखराबाट काठमाडाैंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खसेको तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।
आँबुखैरेनी गाउँपालिका-२ ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको बस नदी किनारमा रहेको छ । बसमा ४० जना रहेको प्रारम्भिक विवरण छ । घटनास्थल पृथ्वी राजमार्गको आँबुखैरेनी-मुग्लिन सडक खण्डमा पर्छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।