सुन्धाराअगाडि जेनजी युवाहरूबीच झडप

काठमाडौं – काठमाडौंको सुन्धारा अगाडि जेनजी  युवाहरूबीच झडप भएको छ । आन्दोलनपछि नयाँ अन्तरिम सरकार गठनको दाबी गर्दै विभिन्न समूह सुन्धारा क्षेत्रमा भेला भएका छन् ।

नेपाली सेनाले कमाण्ड हातमा लिएर युवाहरूसँग छलफल गर्न थालेपछि फरक फरक समूह जेनजी आन्दोलनको नेतृत्वकर्ताको दाबी राखेर प्रस्तुत भइरहेका छन् ।बुधबार जंगीअड्डा गेटमा माइकिङ गरेर नेपाली सेनाले आफ्नो समूहको ‘लिडर’ को नाम र फोन नम्बर टिपाएर बिहीबार बिहान सम्पर्कमा आउन भनेको थियो । सोही कारण युवाहरूको फरक फरक समूह आफ्ना सिफारिस लिएर त्यहाँ पुग्दा कुरा नमिलेर टकरावको स्थिति पैदा भएको छ ।

प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजीनामा दिएपछि अहिले मुलुक सरकारविहीन अवस्थामा छ । अन्तरिम सरकारको प्रमुख कसलाई बनाउने भन्ने विषयमा एकअर्काका सिफारिसलाई अस्वीकार गर्दै युवाहरूबीच विवाद भएको हो ।

अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा शुशीला कार्की, बालेन शाह, कुलमान घिसिङ र हर्क साम्पाङलाई अघि सारेका विभिन्न समूहबीच बुधबार सैनिक मुख्यालय ज‌ंगीअड्डा अगाडि पनि विवाद भएको थियो । जंगीअड्डा परिसर अगाडि नेपाली सेनाले भिड जम्मा हुन नदिएपछि युवाहरू सुन्धारा क्षेत्रमा भेला हुन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *