उपत्यकाको वायु प्रदूषणले सिमा नाघ्याे, देशका धेरै स्थानकाे माैसम धुम्म


काठमाडाैं – पछिल्लाे केही दिन यता देशका धेरैजसाे स्थानकाे माैसम धुम्मिएकाे छ । काठमाडाैं उपत्यकामा केही दिनदेखि धुलो र प्रदूषणले आकाश ढाकिँदा मौसम खुल्न सकेको छैन ।

गर्मी बढेसँगै धेरै हावा नचलेपछि वायुमण्डलमा भएको धुलोका कणहरू सतहमा झार्ने गरी पानी पनि नपरेका कारण उपत्यका धुलो र प्रदूषणले ढाकिएको वातावरण विभागले जनाएको छ ।

अहिले उपत्यकाको वायु प्रदूषण मापन सूचक एक्यूआई एक सय ६८ पुगेको छ । एक्यूआई एक सय ५० भन्दा माथि जानुलाई अस्वस्थकर मानिन्छ । वायुमण्डल नै प्रदूषणले भरिँदा मानव स्वास्थ्यमा गम्भीर असर पार्ने विज्ञहरू बताउँछन् । हावामा हुने दुई दशमलव पाँच माइक्रोनभन्दा साना धुलोका कणले मानिसको स्वास्थ्यलाई धेरै असर गर्छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार हावामा यस्तो कण प्रतिक्युबिक मिटरमा पाँच माइक्रोग्राम हुनुपर्छ । तर अहिले काठमाडाैं उपत्यकामा त्यसको झन्डै १३ गुणा धेरै अर्थात् प्रतिक्युबिक मिटरमा ६४ दशमलव आठ माइक्रोग्राम रहेको छ ।

अहिले उपत्यकाको वायुमण्लमा देखिएको धुलो हटाउन कि जोडले हावा चल्नुपर्ने कि ठूलो पानी पर्नुपर्ने वातावरणविदहरू बताउँछन् । तर धुलो झार्ने गरी ठूलो पानी पर्ने सम्भावना तत्काल नदेखिएको मौसमविद्ले बताएका छन् ।

बेलुकीपख फाट्टफुट्ट पानी परे पनि प्रदूषण कम गराउने गरी ठूलो पानी पर्ने सम्भावना नरहेकोले अहिले काठमाडाैं उपत्यकासहित देशका धेरैजसो सहरी क्षेत्रकाे मौसम धुम्म रहेको मौसमविद्ले बताएका छन् ।

प्रतिक्रिया