दोब्बर मूल्यमा मास्क बिक्री गर्ने सप्लायर्सलाई जरिवाना

काठमाडौं – आपूर्ति वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले चार रुपैयाँ ४६ पैसा (थोक) मा डिस्पोजेबल मास्क किनेर ८ रुपैयाँ ३८ पैसामा बिक्री गर्ने बिक्रेतालाई कारबाही गरेको छ ।

त्रिपुरेश्वरको अल फाइन सर्जिकल सप्लायर्सलाई कारबाही गरेको हो । विभागका अनुसार बिक्रेतालाई दुई लाख जरिवाना गरिएको छ । प्रति पिस चार रुपैयाँ मुनाफा कमाएको पाइएको छ ।

अनुगमनका क्रममा उक्त सप्लायर्सले प्रतिगोटा रु ४.४६ पैसामा खरीद गरेको मास्कलाई रु ८.३८ पैसामा बिक्री गरेको पाइएको थियो।

उक्त सप्लायर्सलाई उपभोक्ता संरक्षण ऐन, २०७५ दफा १६ (२) को ‘क’ बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरी दफा ३८ बमोजिम कसुर गरेको पाइएपछि दफा ३९ (१) को ‘ख’ बमोजिम जरिवाना गरिएको हो ।

पछिल्लो समय विभागले काठमाडौँ उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञाको समयमा बजारमा अनुचित व्यापारिक कारोबार हुने भन्दै बजार अनुगमनलाई तीव्रता दिएको छ ।

गत बिहीबार विभागले भक्तपुरस्थित मास्क उत्पादन गर्ने हिमालयन हेल्थ केयर कम्पनीलाई रु ५० हजार जरिवाना गरेको थियो ।

उक्त कम्पनीले उपभोक्ता मूल्य नतोकी बजारमा मास्क बिक्री गरेको गुनासोका आधारमा उद्योगमा स्थलगत रुपमा अनुगमन गरी विभागले कारबाही गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *