सृष्टिकालिन संस्कृतिकाे प्रतिबिम्ब ‘होङछा’, असार १६ गते प्रदर्शन हुने

काठमाडाैं – सृष्टिकालिन संस्कृतिकाे प्रतिबिम्ब खम्वु मुन्दुममा आधारित नाटक ‘होङछा’ यही असार १६ गते विहिवार प्रदर्शनमा हुने भएकाे छ । वहुभाषिक नाट्य महोत्सव अवसरमा वरिष्ठ नाट्यकर्मी प्रवीण पुमाद्धारा लिखित एवं निर्देशित नाटक ‘होङछा’ प्रदर्शन हुन लागेकाे हाे ।

मुन्दुमी भेषभुषा, सामग्रीहरु, गरगहना र तत्वहरु समावेश गरी सिप सिकाइ, जीवन भोगाई, माया, प्रेम, विवाह, बुलु, बालाम र सिली जस्ता सांस्कृतिक विकासकाे विषयवस्तु नाटकमा प्रस्तुत गरिएकाे छ । मुन्दुमी, पुमा र प्रर्दशनात्मक भाषा प्रयोग गरी नाटकको दृष्य परिवर्तनमा मुन्दुमी नृत्यहरुबाट मुन्दुमी नाट्य घटनाहरु देखाउन खाेजिएकाे लेखक तथा निर्देशक पुमाले बताए ।

नेपाल सरकार, नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानद्धारा आयोजित वहुभाषिक नाट्य महोत्सव-२०७९ काे अवसरमा यो नाटकको प्रदर्शन काठमाडाैंको थापागाउँस्थित कुञ्ज थिएटरको हलमा हुने भएकाे छ । काठमाडाैंको कोटेश्वरस्थित सिनास कलेजको हलमा धमाधम पूर्वाभ्यास भइरहेको नाटक हुँदैछ ।

लक्ष्मी राईको आवरण परिकल्पना, निनाम्मा राईको भेषभुषा परिकल्पना, खेमराज राईको गहना परिकल्पना, सविन राईको सामग्री परिकल्पना, परशुराम रार्ईको मञ्च, प्रकाश र पाश्र्व संगीत परिकल्पना, तेज किरातको छायाँङ्कन, फणीन्द्र फुयालको सञ्चार संयोजन, आइ टिभी र इण्डिजेनियस टिभी र झिल्को डटकमको मिडिया पार्टनर, अधिवक्ता देवीप्रसाद ढुङ्गानाको कानुनी सल्लाहकार, दिला राई र अनुका राईको व्यवस्थापन रहेको छ ।

साकुमासंग सिकेको सिपलाई होङछाले तानपोङहरूलाई धर्तीमा सिकाउँदै गरेकाे दृष्यबाट नाटक सुरु हुन्छ । दोस्रो दृष्यमा सिक्रिमाको अनुसार सिक्रिमालाई माग्न धर्तीबाट समुन्द्रभित्र होङछा र सिक्रिमा जान्छन् । त्यसपछि समुन्द्रभित्र वाहोङपाले होङछालाई खान खोज्छ । तर चलाखीपुर्ण तरिकाले सिक्रिमाले होङछा बचाँउछिन् । अन्त्यमा बाध्य भएर वाहोङपा र वाहोङमाले होङछा र सिक्रिमाको विवाह गरिदिन्छन् । सबै गाउँलेहरूले मोङछामा सिली नाच्छन् । नाटक सुखान्तमा समाप्त हुन्छ ।

कलाकारहरू प्रवीण पुमा, ध्रुवकुमार राई, निर्मला राई, सकुन्तला राई, खेमराज राई, भुपेन्द्र राई, सविन राई, विनिता सेलिङ, लक्ष्मी राई, निनाम्मा राई, पुर्खाजित राई, ज्योति राई, अनुका राई, सुमन राई, नविन राई, जेनिशा राई, सुष्मा राई, सोनिया जिन्ती राई, सुम्निमा राई, सिम्रन राई, सञ्जय राई, जसवहादुर राई, डिपी राई, लक्ष्मी शोभा राई, प्रतिमा राई, चन्द्रकला राई, पदमकला राई, नन्दकला राईलगायतकाे अभिनय रहेको छ ।

सुम्निमा थिएटर एकेडेमी नेपालको प्रस्तुति, परशुराम राईको गीत/संगीत, सुमन राईको सिली निर्देशन, ध्रुवकुमार राईको चारित्रिक निर्देशन र प्रवीण पुमाको परिकल्पना, लेखन, निर्देशन रहेको छ । निनाम्मा राईले निर्माण गरेको यस होङछा नाटकको समयावधि १ घण्टा रहेको छ ।

बहुभाषिक नाट्य उत्सवमा सुम्निमा थिएटर एकेडेमी नेपालको पुमा भाषाको होङछालगायत लाप्चा उत्थान मञ्च ईलामको लाप्चा भाषाको ‘स्वर्ग जाने सिडि’, पुरानो घर समूह(रौतहट)को थारु भाषाको ‘कनन हरलता’, बाम्बुले राई समाज (ओखलढुङ्गा) राई भाषाको ‘सुश्री सुम्निमा’,रङ्गभूमि एकेडेमी (धरान) को तामाङ भाषाको ‘डम्फुला साङ्ग्युर’, चुलाचुली रङ्गमञ्च (इलाम)को लिम्बु भाषाको ‘सुविउ चरी’ र कर्णाली खस संस्कृति संरक्षण केन्द्र(जुम्ला)को अवधि भाषाको ‘कुटिरो’ असार १२ देखि १८ सम्म क्रमश मञ्चन हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *