चाडपर्वका लागि असोज १ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने
काठमाडौं – यस वर्ष दसैं तिहारलगायतका चाडपर्वका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी असोज १ गतेदेखि खुल्ने भएको छ ।
बुधबार यातायात व्यवस्था विभागको संयोजकत्वमा बसेको सरोकारवालाहरुको बैठकले असोज १ गतेदेखिनै अग्रिम टिकट बुकिङ खुल्ला गर्ने सहमति गरेको हो ।
अन्तर प्रदेश लामा तथा छोटा दुरीका सार्वजनिक यातायातको टिकट असोज १ गतेदेखि काट्न सकिने गरी सर्वसाधारणका लागि सहजीकरण गरिने सहमति भएको यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरी दत्त पनेरुले जानकारी दिए ।
योसँगै सर्वसाधारण नागरिकले असोज १ गतेदेखि नै सार्वजनिक यातायातको टिकट काट्न पाउने भएका छन् । साथै, मंगलबारको बैठकले यातायात व्यवसायीसँग ९ बुँदे सहमति समेत भएको प्रवक्ता पनेरुले जानकारी दिए ।