राखेपका पूर्व सदस्य सचिव किशोरबहादुर सिंहको निधन


काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव किशोरबहादुर सिंहको ७५ वर्षको उमेरमा बिहीबार निधन भएको छ ।

गए राति एक्कासी स्वास्थ्यामा समस्या देखिएपछि उपचारका लागि थापाथली स्थित नर्भिक अस्पतालमा भर्ना गरिएको र उपचारकै क्रममा उनको बिहीबार दिउँसो १२:३० बजे निधन भएको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी दिए ।

स्वर्गीय सिंह २०५९ देखि २०६३ सम्म राखेपको सदस्य सचिव थिए । ब्याडमिन्टनका पूर्व खेलाडी समेत रहेका सिंह ६ पटक राष्ट्रिय च्याम्पियन भएका थिए । सिंह नेपाल ब्याडमिन्टन संघको अध्यक्ष समेत रहेका थिए ।

स्वर्गीय सिंहको पार्थिव शरीरलाई बिहीबार नर्भिक अस्पतालमै राखिने र भोलि (शुक्रबार) उनको छोरी लन्डनबाट स्वदेश फर्किएपछि ताहाचल स्थित घरमा लगेपछि शुक्रबार नै अन्तिम दाहसंस्कार गरिने श्रेष्ठले बताए । स्वर्गीय सिंहको श्रीमती र एक छोरी छन् ।

प्रतिक्रिया