६० वर्ष माथिका नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने

काठमाडौं – सरकारले ज्येष्ठ नागरिकका लागि दिइने सामाजिक सुरक्षा भत्ता अब ६० वर्ष माथिकालाई दिने निर्णय गरेको छ । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्दै सरकारले यस्तो नीति ल्याएको जानकारी दिए ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा गठित संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सार्वजनिक भइरहेको छ ।

यसैगरी, उनले दुई वर्षमा सबैलाई साक्षर बनाउने, शिक्षाको गुणस्तरमा सुधार गर्ने, स्वस्थ नेपाल : निरोगी नेपाल लागू गर्ने, महिनावारी हुने महिलालाई मासिक एक हजार दिने, सबै बालबालिकालाई पूर्ण खोपको व्यवस्था गर्ने, श्रम ऐनमा आवश्यक संशोधन गर्ने र महिलाको प्रजनन् स्वास्थ्यको संरक्षण गर्ने न्यूनतम साझा कार्यक्रमा समेटिएको बताए ।

त्यस्तै, कुनै पनि नेपालीले सडकमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने, कृषि क्षेत्रको आधुनिकीकरण गरिने, सिंचाइ आयोजनाहरूलाई पूरा गरिने, भूमि बैंकको स्थापना गर्ने, मल खरिदको व्यवस्थामा सुधार गर्ने, कृषि उपजको मूल्य तोक्ने, ऊर्जा विकासमार्फत आर्थिक विकास गर्ने, नवीकरणीय ऊर्जालाई प्राथमिकता दिने, बाल संरक्षण अनुदान दिइने र गर्भ अवस्थादेखि मृत्युसम्मको सुरक्षा व्यवस्था गर्ने सरकारको कार्यक्रममा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *