एशिया कप आजदेखि : उद्घाटन खेलमा युएई र नेपाल भिड्दै


काठमाडौं – एसिसी महिला एशिया कप २०२४ को उद्घाटन खेलमा आज (शुक्रबार) नेपालले युएईको सामना गर्दैछ । खेल श्रीलंकास्थित दाम्बुला क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः१५ बजे शुरु हुनेछ ।

तयारीका लागि नेपाली टोली दुई साताअघि नै श्रीलंका पुगेको थियो । तयारीका लागि नेपालले श्रीलंका विकास टोलीविरुद्ध तीन खेल खेलेको थियो जसमध्य पहिलो दुई खेलमा हार व्यहोरेको थियो भने अन्तिम खेलमा जित हासिल गर्‍यो । आज युएई हराउँदै नेपाल प्रतियोगितामा सुखद शुरुवात गर्ने दाउमा छ ।

नेपालको यो तेस्रो एशिया कप सहभागिता हो । यसअघि नेपालले २०१२ र २०१६ मा महिला एशिया कप खेलेको थियो । दुवै पटक नेपालले सबै खेलमा हार व्यहोरेको थियो । समूह ‘ए’ मा रहेको नेपालले पाकिस्तानविरुद्ध जुलाई २१ मा खेल्ने छ भने भारतविरुद्ध जुलाई २३ मा प्रतिस्पर्धा गर्नेछ । समूह चरणबाट दुई/दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनलमा विजयी हुने दुई टोलीबिच साउन १३ गते फाइनल भिडन्त हुनेछ ।

नेपाली टोली
इन्दु वर्मा (कप्तान), रुविना क्षेत्री, सीता रानामगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर) , पूजा महतो, डली भट्ट, विन्दु रावल, रोमा थापा, कृतिका मरासिनी, सबनम राई, राजमती ऐरी ।

प्रतिक्रिया