पेरिसमा ३३ औँ ग्रिष्मकालीन ओलम्पिकको भव्य उद्घाटन


काठमाडाैं – फ्रान्सको राजधानी पेरिसमा ३३ औँ ग्रिष्मकालीन ओलम्पिकको भव्य उद्घाटन गरिएको छ ।  गएराति गरिएको उद्घाटन समारोह पेरिस ओलम्पिकको इतिहासमा पहिलो पटक रङ्गशाला बाहिर नदी किनारमा भएको हो ।

पेरिस ओलम्पिकमा सहभागी दुई सय देशका १० हजार पाँच सय भन्दा धेरै खेलाडी सेन नदीमा आयोजित परेडमा सवार भएका छन् । समारोहमा सेन नदी किनारमा हजारौँ दर्शक उपस्थित थिए । आतिशबाजीसहित चर्चित गायकहरुले प्रस्तुति दिएका छन् ।

उद्घाटन समारोहमा नेपालको झन्डा टेबलटेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले संयुक्त रूपमा बोकेका छन् । पेरिस ओलम्पिक यही साउन २७ गतेसम्म चल्नेछ । औपचारिक उद्घाटन अघि नै फुटबल, ह्यान्डबल, आर्चरीलगायतका खेल सुरु भइसकेका छन् ।पेरिस ओलम्पिकमा नेपालबाट ७ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । जसमा स्यान्टु र मनितासहित एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीका डुवाना लामा र एलेक्जेन्डर शाह, ब्याडमिन्टनका प्रिन्स दाहाल रहेका छन् ।

प्रतिक्रिया