अवैध लागूऔषधसहित पाँच जना पक्राउ


काठमाडाैं – अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ परेका छन् ।

प्रहरीले सुन्दरहरैचा नगरपालिका-३ बस्ने ३२ वर्षीय मनोज कटुवाल र ३२ वर्षीय अम्बिर यक्सो लिम्बुलाई मंगलबार मोरङको विराटनगर-१७ मटेरुवाबाट ३ ग्राम ५ सय ८० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.९८ प ४६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस्तै, झापा गाउँपालिका-१ सालमाराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय मिलिग्रामसहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-१२ बस्ने २६ वर्षीय मनिष थापा, २२ वर्षीय रिकाश बस्नेत र १९ वर्षीय रोमित कट्वाल रहेका छन् ।

इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया