काठमाडाैंमा बिहानैदेखि माैसम सफा, दिउँसो ठूलो पानी पर्ने सम्भावना


काठमाडाैं – काठमाडाैं उपत्यकामा बिहानैदेखि माैसम सफा छ ।  तर दिउँसोपख बदली भएर पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले (शुक्रबार) बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक- दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।

महाशाखाका अनुसार देशका सबै प्रदेशका एक-दुई स्थानमा आज पनि ठूलो पानी पर्ने सम्भावना छ । मनसुनी वायुको प्रभावले मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिण, सरदरकै स्थानमा रहेकोले कोशी, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

गएराति सिन्धुपाल्चोकमा ठूलो वर्षा भएको छ । महाशाखाकाअनुसार पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकको मेलम्ची घ्याङमा १४२ दशमलव ६ मिलिमिटर र तार्के घ्याङमा १३८ मिलिमिटर वर्षा भएको छ । सिन्धुपाल्चोककै भोताङमा ११३ दशमलव ८ मिलिमिटर, मानेखर्कमा १०७ दशमलव २ मिलिमिटर र ढुंगेमा ९० दशमलव ४ मिलिमिटर वर्षा भएको छ ।

यसैबीच सुनकोशी नदी पचुवारघाट र खुर्कोट जलमापन केन्द्रमा जलसतह सतर्कता तह नजिक रहेको र बढ्दो रहेकाले सुनकोशी नदीको तटीय क्षेत्रमा बस्नेहरुलाई दिउँसोसम्म नै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया