विद्युत् सर्ट भएर आगलागी हुँदा निसास्सिएर १ जनाको मृत्यु


दोलखा – दोलखाको शैलुङ गाउँपालिकाको एक घरमा आगलागी हुँदा निसास्सिएर १ जनाको मृत्यु भएको छ । शैलुङ गाउँपालिका–१ को एक घरमा विद्युत् सर्ट भएर आगलागी हुँदा घरमा रहेका ८५ वर्षीया निदकुमारी मगरको निसास्सिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमा विद्युत् सर्ट भएर आगलागी भएको र झ्यालढोका सबै बन्द रहेका कारण घरमा रहेकी वृद्धाको सोमवार मृत्यु भएको प्रहरीले जनाएको छ।

घरको छुट्टै कोठामा वृद्धा एक्लै सुत्ने गरेको र घरमा आगलागी भएपछि स्थानीयले उद्धारको प्रयास गरे पनि निसास्सिएर उनको घरभित्रै मृत्यु भइसकेको स्थानीयले बताएका छन् । बिहानीको समयमा घरमा विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीमा परी घर पूर्ण रूपमा नष्ट भएको छ भने घरमा रहेको बाख्रा तथा कुखुरा समेत जलेर मरेका छन् । आगलागीबाट के कति क्षति भयो भन्नेबारे विवरण संकलन भइरहेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया