बेसीशहर–चामे सडकखण्डमा पहिरो, यातायात अवरुद्ध
मनाङ – निरन्तरको वर्षासँगै आइतवार रातिदेखि आएको बाढीपहिरोले सडक बगाएपछि हिमाली जिल्ला मनाङको एक मात्र सडक अवरुद्ध भएको छ । पहिरोले सडक बगाएपछि मनाङ प्रवेश गर्ने मेरुदण्डको बेसीशहर–चामे सडक अवरुद्ध भएको छ ।
बाढीपहिरोले लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ रामबजारस्थित घोप्टेभिर र मनाङको कोतोमा क्षति भएपछि बेसीशहर–चामे सडक अवरुद्ध भएको डुम्रे–बेसीशहर–चामे सडक योजना कार्यालयका सबइन्जिनीयर सुमन अधिकारीले जानकारी दिए ।
उनका अनुसार मस्र्याङ्दीको राम बजार, घोप्टेभिर र कोतोमा पहिरोले सडक बगाएपछि सोमवार बिहानैदेखि सडक अवरुद्ध भएको छ ।सडक बगाएपछि चामेको कोतोमा मानिस वारपार गर्न समस्या भएको उनले बताए । खोल्सीको बाढीले कोतोमा २० मिटरजति सडक बगाएको अधिकारीले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले सदरमुकाम चामे नजिकै खोल्सीमा आएको बाढीले कोतोको सडक बगाएको बताए । सडक खुलाउनका लागि काम भइरहेको छ । लगातार वर्षा भइरहेकाले सचेत रहन उनले जिल्लावासीलाई आग्रह गरेका छन् ।