फोहोर लिएर गएको गाडीलाई अवरोध गरेपछि बञ्चरेडाँडा तनावग्रस्त


काठमाडौं – काठमाडौंबाट फोहोर लिएर गएको गाडीलाई अवरोध गरेपछि बञ्चरेडाँडामा प्रहरीले हवाई फायर गरेको छ । फोहोर फाल्न गएका गाडी स्थानीयले अघि बढ्न नदिएपछि प्रहरीले हवाई फायर गरेको हो ।

काठमाडौं प्रहरीका अनुसार अवरोध हटाउन प्रहरीले केही सेल अश्रु ग्याँस र ५ राउण्ड हवाई फायर गरेको हो । फोहोर लिएर जाँदै गरेको गाडीमा स्थानीयले ढुंगामुढा गरेपछि प्रहरीले हवाई फायर गर्नुपरेको काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

फोहोर फाल्न स्थानीयले लगातार अवरोध गरेपछि मंगलबार प्रहरीको टोली बञ्चरेडाँडा पुगेको थियो । बञ्चरेडाँडा पुगेका प्रहरीविरुद्ध स्थानीयले माइकिङ गर्दै हस्तक्षेप नगर्न आग्रह गरेका थिए ।

उनीहरुले स्थानीयको आन्दोलनमा प्रहरीले हस्ताक्षेप गरे मुठभेडको अवस्थासमेत आउन सक्ने चेतावनी दिएका थिए । स्थानीयको चेतावनीका बाबजुद फोहोरका गाडी अगाडि बढाइएको थियो । त्यसै क्रममा स्थानीयले ढुंगामुढा गरेपछि प्रहरीले अश्रुग्याँस र हवाई फायर गरेको हो।

प्रहरीले अवरोध नगर्न आग्रह गर्दै अवरोध कायम भए बल प्रयोग गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया