‘विप्लव पक्षसँग भएकाे सम्झाैता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ’ : गृह मन्त्रालय

काठमाडाैं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपासँग भएको सम्झौता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए।

सोमवार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री कोइरालाले नेकपाको वार्ता टोलीले सरकारसँग विसं २०७७ फागुन २० गते सम्झौता गरेको र त्यस अनुसार अहिलेसम्म पाँच सय २३ वटा मुद्दा फर्स्याेट भइसकेको बताए । उनले नेकपामाथि ६ सय १० वटा मुद्दा लागेको जानकारी दिँदै अहिले ८७ वटा मुद्दा फर्स्याेटकाे क्रममा रहेको बताए ।

मन्त्री कोइरालाले भने, ‘नेकपासँग सम्बन्धित मुद्दा ६० वटा जिल्लामा छ । त्यसमा धेरै हदसम्म काम भएकाे छ । अदालतमा चलेका मुद्दामा पनि एक सय १९ वटा फैसला भइसकेकाे छ । नेकपासँगकाे सम्झाैता पूरा गर्ने कुरामा सरकार प्रतिबद्ध छ ।’

पत्रकार सम्मेलनमा बाेल्दै महान्यायाधिवक्ता खम्मबहादुर खातीले ऐन, कानुनले नकारात्मक सूचीमा राखेका मुद्दाहरू भने मन्त्रिपरिषदबाट फिर्ता लिन नमिल्ने बताए ।

उनले फिर्ता लिने मुद्दाहरूमा ३८ थान मुद्दा गृह मन्त्रालयबाट आएको र महान्यायाधिवक्ताको कार्यालयले त्यसको प्रक्रिया पूरा गरेर गृह हुँदै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुगेको अवस्थामा रहेको बताए । ती मुद्दामा क्षतिपूर्तिको माग दाबी भएको कारणले पनि प्रक्रियागत रूपमा अघि बढेको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *