गृहका १० सहसचिवको सरुवा, फेरिए ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सूचीसहित)

अध्यागमनको महानिर्देशकमा तामाङ


काठमाडौं – गृह मन्त्रालयले १० जना सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ । गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा सहसचिव रुद्रसिंह तामाङको सरुवा गरेको छ । विभागका यसअघिका महानिर्देशक झलकराम अधिकारी सुन तस्करी प्रकरणमा मन्त्रालय तानिएका थिए ।

सुन तस्करीमा संलग्न भनिएका चिनियाँ नागरिक दावा छिरिङसँग अधिकारीको वी–च्याटमा भएको संवाद बाहिरिएको थियो । त्यसपछि उनी मन्त्रालय तानिएका हुन् । त्यसपछि मन्त्रालयले अध्यागमनको महानिर्देशमा तामाङलाई सरुवा गरेको हो ।
तामाङ राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत थिए । उनको ठाउँमा गृह मन्त्रालयमा कार्यरत सहसचिव जयनारायण आचार्यलाई लगिएको छ ।

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहसचिव गणेश अर्यालको पनि सरुवा भएको छ । अर्याललाई रुपन्देहीको प्रमुख जिल्ला अधिकारी (सीडीओ) बनाइएको छ । उता दैलेखका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाललाई सरुवा गरी त्रिभुवन अनर्तराष्ट्रय विमानस्थल अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतमा सरुवा गरिएको छ ।

रुपन्देहीका सीडीओ भरतमणि पाण्डेलाई गृहले मन्त्रालय वा अन्तर्गत ल्याएको छ भने गृह मन्त्रालयका सहसचिव शिवराम गेलाललाई महोत्तरीको सीडीओमा सरुवा गरिएको छ । महोत्तरीका सीडीओ दीपक कुमार पहाडीलाई गृह मन्त्रालयमा ल्याइएको छ । त्यस्तै भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई गृह मन्त्रालयमा सरुवा गरी बागलुङका सीडीओ रोशनी कुमारी श्रेष्ठलाई भक्तपुरको सीडीओ बनाइएको छ ।

प्रतिक्रिया