तिहार फ्लोरा एक्स्पो सम्पन्न, ६० लाख बढीको कारोबार


काठमाडौं – काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको तिहार फ्लोरा एक्स्पो सम्पन्न भएको छ । एक्स्पोमा ६० लाखभन्दा बढीको कारोबार भएको छ भने ३० हजार जना भन्दा बढीले अवलोकन गरेका छन् ।

‘तिहारको महोत्सव, फूलको उत्सव’ भन्ने मूल नाराका साथ सुरु भएको मेलामा ६७ वटा स्टल रहेको नर्सरी व्यवसायी संघले जनाएको छ । भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा यही कार्तिक १४ गतेदेखि १८ गतेसम्म सञ्चालन भएको ‘फ्लोरा एक्स्पो’मा फूल तथा बत्तीको विशेष पर्व तिहारलाई लक्षित गर्दै देशका विभिन्न भागबाट नर्सरी व्यवसायीहरुको सक्रिय सहभागिता रहेको संघले जनाएको छ ।

यस मेलामा विभिन्न प्रजातीका फूल फुल्ने तथा नफुल्ने आलंकारीक फूल विरुवाहरुलगायत कृषि तथा वन, जडिबुटी नर्सरी, फलफूल नर्सरीबाट उत्पादित विविध प्रजातीका बोटविरुवाहरु प्रदर्शनी तथा बिक्री वितरणको लागि राखिएको थियो ।

मेलामा कम्तीमा ३० हजार अवलोकनकर्ताले अवलोकन गरेको साथै ६० लाखभन्दा बढीको आर्थिक कारोबार भएको संघका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले बताए । मेलामा ६० वटा व्यवसायीक स्टल रहनुको साथै मलखाद, अर्गानिक एवं रसायनिक विषाधी, विउ विजन, औजार उपकरण तथा प्रविधिहरुको समेत स्टल रहेका संघका अध्यक्ष तिमिल्सिनाले बताए ।

मेलामा प्रदर्शित फूल तथा विरुवाको प्रस्तुतीकरणमा सम्बन्धित क्षेत्रको विज्ञ प्राविधिकद्वारा मुल्याइन गराई संधले पुरस्कार तथा प्रमाणपत्रसमेत वितरण गर्‍यो । समय समयमा हुने यस्ता मेलालाई पुष्प व्यावसायीले भने पर्वका रुपमा लिदै आएका छन ।

उक्त एक्स्पोको गत मंगलबार नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्‌घाटन गरेका थिए ।

प्रतिक्रिया