जाजरकोटमा २ सयभन्दा धेरै परकम्प, सतर्क रहन आग्रह


काठमाडाैं – भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा लगातार परकम्प गइरहेकाे छ।

अस्ति शुक्रवार राति ११ बजेर ४७ मिनेट जाँदा ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएपछि अहिलेसम्म २ सय ११ भन्दा धेरै पटक परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार यो अवधिमा ४ रेक्टर स्केलमाथिका परकम्प ६ पटकसम्म गएका छन् । अझै परकम्प आउने सम्भावना रहेकाले सतर्क रहन प्रभावित क्षेत्रका नागरिकलाई केन्द्रले आग्रह गरेको छ।

शुक्रवार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पमा परेर अहिलेसम्म जाजरकोट र रुकुम पश्चिममा गरी १ सय ५७ व्यक्तिको ज्यान गएको पुष्टि भएको छ । दुई सय जनाभन्दा धेरै जना घाइते भएका छन् ।

प्रतिक्रिया