‘श्री स्वस्थानी व्रतकथा’ आजदेखि सुरू


काठमाडौं – आज पौष शुक्ल पूर्णिमा । आजदेखि ‘श्री स्वस्थानी व्रतकथा’ प्रारम्भ भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रतमा नेपाली हिन्दू धर्मावलम्बी महिलाले एक महिनासम्म स्वस्थानी व्रत लिने र माघ स्नान गरी मनाउने परम्परा छ ।

पौष शुक्ल पूर्णिमाको अघिल्लो दिनै हात गोडाका नङ काटी, स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ । बिहान माघ स्नान गरी मध्याहृन कालमा महादेवको पूजा गरिन्छ । बेलुकी ‘स्वस्थानी व्रत कथा’ घर–घरमा सुन्ने र सुनाउने गरी स्वस्थानीको प्रसाद ग्रहण गरिन्छ ।

स्वस्थानी देवीको विधिपूर्वक व्रत गरेमा विछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ । रोगव्याधी लागेको भए ठीक हुने र पति वा पत्नीका रूपमा कसैलाई इच्छाएको भए पनि प्राप्त हुने जनविश्वास रहिआएको छ ।

सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । आजैदेखि एक महिनासम्म काठमाडौंको साँखुमा रहेको शालीनदीमा माघ स्नानसहित माधवनारायणको मेला लाग्ने गर्दछ ।

प्रतिक्रिया