आहा रारा पोखरा गोल्डकप : आज मच्छिन्द्र र जावलाखेल खेल्दै


पोखरा – आहा रारा पोखरा गोल्डकपको २३औं संस्करणमा आज मच्छिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लब खेल्दै छन् । खेल साढे २ बजे पोखरा रंगशालास्थित फुटबल मैदानमा हुनेछ ।

हालसम्म दुवै टिम गोल्डकपको उपाधिविहीन छन् । आहा रारामा मच्छिन्द्रको यो छैंटौं सहभागिता हो । अघिल्लो संस्करणमा प्रिक्वार्टर फाइनलमै चर्च ब्वाइजसँग मच्छिन्द्र ३-१ ले पराजित हुँदै बाहिरिएको थियो ।

जावलाखेलको आहा रारामा यो चौंथो सहभागिता हो । २०६८ मा भएको दशौं आहारारा गोल्डकपमा पहिलोपटक सहभागी भएको जावलाखेलले डेब्यु प्रतियोगितामै फाइनलसम्म पुगेको थियो । तर, फाइनलमा मनाङमर्स्याङ्दी क्लबसँग २-० अन्तरले पराजित हुँदै इतिहास कायम गर्न चुक्यो ।

आहा रारामा जावलाखेल एक दशकपछि फर्किएको हो । तर, कुनै पनि संस्करणमा दुवै टिम भिडेका थिएनन् । आजको खेल जित्ने टिम क्वार्टर फाइनलमा प्रवेश गर्नेछ र माघ १५ गते मनाङमर्स्याङ्दीसँग अन्तिम ४ का लागि प्रतिस्पर्धा गर्नेछ ।

यसअघि प्रिक्वार्टरका २ खेल भइसकेका छन् । जसमध्ये पहिलो खेलमा आयोजक सहारा क्लबलाई २–१ ले हराउँदै थ्रीस्टार क्लब र राइजिङ स्टार क्लबलाई १–० ले हराउँदै विभागीय टिम नेपाली आर्मी क्लबले अन्तिम ८ मा आफ्नो स्थान पक्का गरिसकेका छन् ।

प्रतिक्रिया