काठमाडाैं उपत्यकासहित आसपासका क्षेत्रमा वर्षा, हवाई उडान प्रभावित


काठमाडाैं – हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसले हाल देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली भई केही स्थानमा हल्का वर्षा भएको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल गण्डकी प्रदेशको कास्की र गोरखा जिल्ला तथा बाग्मती प्रदेशको काठमाडाैं उपत्यका र मकवानपुर जिल्ला आसपासको क्षेत्रमा मेघगर्जन/चट्याङ्ग सहित वर्षा गराउने प्रणाली विकसीत भई पूर्वी दिशामा फैलिने र सर्ने क्रममा रहेको छ ।

यसको प्रभावले कोशी, बाग्मती, गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको भईरहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

राती कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

हवाई उडान प्रभावित

प्रतिकूल माैसमका कारण हवाई उडान प्रभावित भएका छन् । काठमाडाैंमा आज आएको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएका विमानस्थलका प्रवक्ता सुवास झाले बताए ।

उनका अनुसार आन्तरिक उडानका केही जहाज ‘डाइभर्ट’ भएका छन् भने अन्तर्राष्ट्रियतर्फका केही जहाजले आकाशमा फन्को लगाउनुपरेको थियो । नेपालगञ्जबाट काठमाडाैंका लागि उडेको बुद्ध एअरको जहाज भैरहवा फर्किएको थियो भने सिमराबाट काठमाण्डौका उडेको बुद्धकै जहाज सिमरा नै ‘डाइभर्ट’ भएको छ ।

काठमाडाैंबाट पोखराका लागि उडेको यती एअरलाइन्सको जहाज काठमाडाैं नै फर्किएको छ । कतार एअरवेज, विमान बङ्गलादेश, इन्डिगो, विस्तारा एअर लगायतका जहाजले दर्जनौँ पटक आकाशमा फन्को लगाएका छन् ।

प्रतिक्रिया