एसीसी प्रिमियर कप : कतारलाई ३२ रनले पराजित गर्दै नेपाल विजयी


काठमाडौं – नेपालले एसीसी प्रिमियर कपमा लगातार दोस्रो जित हासिल गरेको छ । शनिबार ओमानको अल अमिरातमा भएको खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो ।

नेपालले दिएको २११ रनको लक्ष्य पछाएको कतारले २० ओभरमा ९ विकेट गुमाउँदै १७८ रन बनाएको थियो । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको थियो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै अविजित ६४ रन बनाएका थिए । दिपेन्द्रले १९ बलमा अर्धशतक पुरा गरेका थिए । दिपेन्द्रले अन्तिम ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका थिए ।

त्यस्तै असिफ सेखले ५२ रन बनाए भने कुशल मल्लले ३५, कप्तान रोहित पौडेलले १८, कुशल भुर्तेलले १२ सन्दीप जोराले ७ र गुलशन झाले ५ रन बनाएका थिए । त्यसैगरी कतारका बलर हिमांशु राथोड र मुसावर शाहले ३-३ विकेट लिएका थिए ।

यो जितपछि समूह ‘ए’ मा रहेको नेपालको २ खेलमा ४ अंक भएको छ । नेपालले अब अर्को खेल आगामी सोमबार हङकङसँग खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया