इलाममा भोलिदेखि मदिरा बिक्री–वितरणमा प्रतिबन्ध
इलाम – जिल्ला प्रशासन कार्यालय इलामले भोलिदेखि मदिरा बिक्री-वितरणमा रोक लगाएको छ । वैशाख १५ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनलाई लक्षित गरी मदिरा बिक्री वितरणमा प्रतिबन्ध गरिएको हो ।
इलाममा यही वैशाख २ गतेदेखि वैशाख १५ पछिको मतगणना नसकुञ्जेलसम्म मदिरा बिक्री–वितरणमा प्रतिबन्ध लगाएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
निर्वाचनपूर्व, निर्वाचन र निर्वाचनपछिको समयमा शान्ति-सुरक्षामा असर पर्ने भन्दै मदिराजन्य पदार्थ बिक्री-वितरण एवं सेवन गर्न प्रशासनले रोक लगाएको हो । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै यदि मदिरा प्रयोग एवं बिक्री वितरण गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने जनाएको छ ।
शान्ति सुरक्षालाई मध्यनजर गरेर गरिएको यस कार्यलाई सहयोग गर्न जिल्ला प्रशासन कार्यालय इलामले सम्पूर्णमा आग्रह गरेको छ ।