कोशी, बाग्मती र गण्डकीमा रातिदेखि वर्षा, देशभर माैसम बदली


काठमाडाैं – अहिले नेपालको कोशी, बाग्मती र गण्डकी प्रदेशको केही स्थानमा पानी परिरहेको छ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव वर्षा गराएको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसको प्रभावले देशभर आंशिक देखि साधारणतया बदली रही कोशी, बाग्मती र गण्डकी प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा दिनभर आंशिक बदली रहने छ ।

यस्तै कोशी प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू-भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

वर्षा र हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

प्रतिक्रिया